Random posts

किन हराउँदैछन् रैथाने भोटे कुकुरहरू ?

दिवस गुरुङ 

करिब ४ हजार मिटर उक्लेपछि बागलुङको ‘बुकी’ पुगिन्छ। ढोरपाटनको माथिल्लो भेग हो बुकी। यहाँ अझै पनि ढोरपाटन उपत्यकाका स्थानीयहरु हरेक वर्ष गाइवस्तु लिएर गोठ बसाल्छन्। बैशाख जेठ महिनामा उक्लेका उनीहरु असोजतिर ढोरपाटन झर्छन्।

ग्वालाहरुले वस्तुभाउसँगै गोठमा पालेका हुन्छन्, अजंगका कुकुरहरु। बाक्ला भुत्लाले ढाकिएको अजंगको शरीर, लामा लामा लत्रिएका कानहरु भएका, हेर्दैै आक्रमक देखिने। भेगै थर्कमान हुने यिनीहरुको भुकाइ अझ खास सुनिन्छ। यी सामान्य कुकुर भने हैनन्। नेपालको रैथाने प्रजातिका भोटे कुकुर हुन् यी। बुझ्न सके सगरमाथा सरह पहिचान बोकेको राष्ट्रिय गौरव हो । लाग्छ, गोठ मात्र नभई सिंगो खर्ककै रेखदेख गर्ने जिम्मा यिनीहरुको हो।



त्यहीँ खर्कहरूमा भेटिन्छन् सन्देश थापा। उनी ढोरपाटनबाट दुई दिन हिँडेर यहाँसम्म आइपुगेका थिए। यो वर्ष मात्र हैन, उनी हरेक वर्ष हिँडेरै यहाँ आउँछन्। घुम्न, डुल्न वा फुर्सद समय बिताउन यहाँ आएका होइनन् सन्देश। खर्क उक्लनुको कारण सुन्दा सबैलाई अचम्म लाग्छ। हो, यहाँ भेटिने भोटे कुकुरको प्रेमले उनलाई हरेक वर्ष यहाँसम्म डोर्याउछ। केही वर्षदेखि निरन्तर भोटे कुकुरको अध्ययन, प्रजनन र संरक्षणमा तल्लीन एक पात्र उनी हुन् भन्दा फरक पर्दैन।

खर्कका हरेक गोठ-गोठ चर्हाछन् उनी। उनको कौशलता भनौं, आक्रमक र रिसाहा उपनामले चिनिने भोटे कुकुरसँग उनी एकैछिनमा झ्यामिहाल्छन्। तिनलाई फकाइफुलाइ जुकाको औषधी खुवाउँछन्। रमाइरमाइ कुकुरहरु पनि उनीसँग निस्फिक्री खेल्छन्, उफ्रन्छन् अनि घण्टौं भुल्छन्। उनी यसैमा रमाउन थालेकोे वर्षले धेरै भयो। पौराणिक भोटेकुकुरको संरक्षणकै निमित्त यो जीवन बरदान पाएको जस्तो लाग्छ उनी बताउछन। भोटे कुकुरसँगको प्रेम कम्ति रोचक छैन सन्देशको। हामीले सोध्यौं, उनले कुराकानीको पोयो फुकाए। घर उनको पाखाथर गाउँ, ढोरपाटन। उनको बाल्यकाल ढोरपाटन कै फाँटमा हाँस्दै र खेल्दै, बुकी उक्लदै र लेकका गोठहरु चहार्दै बित्यो। बैशाख जेठ महिनामा हजुरबालाई पछ्याउँदै उनका पैतालाले पनि माथि बुकी यात्रा तय गर्थे। उनी कहिले हजुरबासँगै घाँसपात बटुल्न लेकतिर जान्थे त कहिले गाइभैँसी घोडा चराउन पाटनतिर कुद्थे। अनि उनीसँग साथैमा हुन्थे भोटे कुकुरहरु। दिनभर चराएर साँझ सकुशल गाइवस्तुलाई गोठ फर्काउने जिम्मा भोटे कुकुर र उनको हुन्थ्यो। दिन, हप्ता मात्र नभई महिनौं दिन उनी लेकमै हराउथे।

उमेरसँगै पढाइका लागि उनी पाल्पा र पोखरासम्म पुगे। पढाई अघि बढाउदै लगे । उमेर छिप्पिदै गएपनि बाल्यकालका यादहरु बिर्सन कहाँ सकिन्छ ? उनले पनि बिर्सन सकेनन् । स्कुल छुट्टी भयो कि उनी लेकतिर उक्लिहाल्थे। कलेज पढ्दा पनि लेक उक्लिन उनले बिर्सेनन्। समयसँगै सबथोक परिवर्तन हुँदै गयो। बाल्यकालमा दर्जनौँ गोठालाहरु गाइवस्तु धपाउँदै लेक उक्लदाको त्यो रौनक आज छैन भने पनि हुन्छ ।

घटे गोठाला । घटे गोठमा गाइवस्तुका संख्या । अनि सँगै घटे सुरक्षाका लागि पालिने भोटे कुकुरहरु । गोठैपिच्छे भेटिने भोटे कुकुरहरु आजभोलि मुस्किलले देखिन्छन्। त्यो पनि प्रायः काठे, ठिमाहा मात्र भेटिन्छन्। खाट्टी भोटे कुकुर त औंलामा गन्न सकिन्छ। हप्ता दिन ढोरपाटनका विभिन्न लेकहरु चहार्दा भोटे कुकुरको संख्या नाजुक देखे। ‘यहीँ गतिमा संख्या घट्दै जाने हो भने केही दशकमा नेपालबाटै रैथाने भोटे कुकुर लोप हुुन्छ’ उनले एकलाप गरे।उनी एक्लै रन्थनिए। भोटे कुकुर लोप हुनबाट कसरी बचाउने होला? एक्लै जुक्ति लगाए। हजार उपाय खोज्दा पनि नपाएपछि आफैं कस्सिन्छु भनेर लागि परे। अनि त उनी भोटे कुकुरको संसारमा जोडिए। भोटे कुकुरको अनुसन्धान, प्रजनन र संरक्षणमा उनी एक्ला थिए। एक्लै लागिरहेकै थिए।

भोटे कुकुर जोगाउन सन्देशको लगाव देखेर उनको अभियानका अर्का सारथी थपिए पोखराका विजय पौडेल। उनी जापानबाट फर्किएका थिए । सन्देशलाई पनि ‘ढुंगा खोज्दा देउतै मिलेजस्तो भो’ दुवैको अथक मिहिनेत, प्रयास र लगानीमा थुप्रै सपनाहरु जन्मिए अनि सँगै जन्मियो ‘भोटे कुकुर क्यानल’ ।

विभिन्न प्रजातिका देशी विदेशी जातका कुकुरको प्रजनन र बिक्रीका लागि नेपालका विभिन्न ठाउँमा थुप्रै क्यानल हाउस र पेट सपहरु सञ्चालनमा छन्। अन्य क्यानल हाउसहरुभन्दा यो सेन्टर धेरै पक्षमा फरक र विशेष पनि छ। ‘अन्य क्यानल हाउसहरु विभिन्न प्रजातिका कुकुरको प्रजनन र विक्री गर्छन् भने हाम्रो यो सेन्टर मात्र नेपाली भोटे कुकुरकै लागि खोलिएको सेन्टर हो। भोटे कुकुरबाहेक अन्य कुनै ब्रिडको कुकुरको प्रजनन, र बिक्री हाम्रोमा हुँदैन । हाम्रो नितान्त प्रयास भनेकै नेपाली रैथाने भोटे कुकुरको संरक्षण गर्नु हो,’ विजयले सुनाए। सेन्टरबारे प्रकाश पार्दै सन्देश थप्छन्, ‘विदेशी प्रजातिहरुले नेपालमा प्राथमिकता पाउँदा नेपालकै रैथाने प्रजाति भोटेकुकुर भने लोपनमुख अवस्थामा छ । हामी दुईको यो सानो प्रयासले ठूलै परिवर्तन नआए पनि परिवर्तनको सानो झिल्को ल्याउनेमा हामी विश्वस्त छौं ।’

सपनालाई यर्थाथमा परिणत गर्न त्यति सजिलो भने थिएन। विजयलाई सम्झना छ, सुरुआतमा पर्याप्त लगानी र पर्याप्त सीप नहुँदाको ठक्कर। सपनालाई यर्थाथतामा बदल्न त्यति सजिलो कहाँ हुनु? ‘सेन्टर सञ्चालनमा आवश्यक प्राविधिक, प्रशासनिक ज्ञान सिक्न हामी विभिन्न नेपाली तथा बिदेशी व्यक्तित्व जो न्याटिभ तिब्बतियन मास्टिफ संग आबद्ध छन उहाँहरू संग अन्तरक्रिया गरेउ । निर्मलपोखरीमा अवस्थित मेरै घरसँग जोडिएको जग्गालाई सेन्टर सञ्चालनका लागि छुट्यायौं,’ विजय भन्छन्, ‘वरपर तारवार लगाउन र कम्पार्टमेन्ट बनाउन आवश्यक सामाग्री किन्न ऋण नै काढ्यौं ।

सेन्टर निमार्णको खाका तयार भएपछि मुख्य काम थियो भोटे कुकुरहरु खोज्ने, बटुल्ने र सेन्टरमा ल्याउने। भोटे कुकुर खोज्नु त्यति सजिलो काम होइन। भोटे कुकुर खोज्न सन्देश बागलुङ, रोल्पादेखि रुकुमका लेकका गोरेटोहरु नापे। अप्रत्यक्ष रुपमा मुस्ताङ, डोल्पा, जुम्ला पनि चहारे तर हिजोआज मासिएको सुनाउछन पुराना गोठालाहरु।यता विजय भने पूर्वका इलाम, पाँचथरदेखि ताप्लेजुङ फन्को मारिसकेका थिए। ठिमाहा प्रजातिका भोटे कुकुरहरु प्रशस्त मात्रामा भेटिन्थे। तर नेपालमै सीमित संख्यामा खुम्चिएको रैथाने भोटे कुकुर पाउन ‘फलामको चिउरा चपाउनु’ सरह हुन्थ्यो।

भेटिहाले पनि ठिमाहा, काठे मात्र बेसी भेटिन्थे। भेटिएका भोटे कुकुरहरु पनि प्रायः उमेर गएकाहरु हुन्थे जसले धेरैमा एक दुई पटक मात्र प्रजनन गर्न सक्थे। दुर्गम ठाउँमा लुकेर बसेका कतै डागो मात्र छन् भने कतै माउ मात्र छन्। गोठालाहरुले बुढो बिउँलाई छनोट गरी हाडनाता छुटाएर राम्रो प्रजनन् गराउन नसक्दा युवा अवस्थाका छाउरा छाउरीहरु बनावट सामान्य किसिमको पाईएको छ। अब ति बूढा कुकुरहरुमा भएको शुद्धता, वनावट पछिल्लो पुस्ताहरुमा लोप हुदै गएको हुनाले बिभिन्न ठाउँका कुकुरहरु एकै स्थानमा राखेर हाडनाता छुटाएर प्रजनन् गर्न, भोटे कुकुरहरुको संरक्षण गर्न ब्रिडिङ्ग सेन्टर खोलिएको हो। 

भोटे कुकुर भेटिए पनि अर्को समस्या गोठालोलाई हाम्रो योजनाले प्रभाव पारि फकाउनु अझै ठुलो चुनौती लाग्छ । गोठाला आफ्नो कुकुर संगको लगाव र इमानदारितालाई बेच्न त्यार हुन्न थे ।अन्तत: महँगो मुल्य हालेर उनीहरुले ल्याएका कुकुरहरु कोही एक वर्ष नबित्दै बिते ता पनि उमेर छिपिएकै भएपनि शुद्ध नस्ल हुने भएकाले एक पटक प्रजनन गराउन सके यसैमा उनीहरु सन्तुष्ट हुन्छन।

चलचित्र: लोम्बा

सन्देशलाई इमान्दारिता, कर्तव्यनिष्ठ र बफदारिताको पर्याय लाग्छ कुकुर । अझै बढी यी गुण उनी भोटेकुकुरमा भेट्छन । केही वर्षअघि उनी र साथीको संयुक्त लगानीमा पोखरामा भोटे कुकुर अध्ययन, प्रजनन एवं संरक्षण केन्द्र सुरु गरेका उनीहरुको नाफा कमाउने भन्दा पनि विशुद्ध भोटे कुकुरको अध्ययन, प्रजनन र यसको संरक्षणमा केन्द्रित थियो। ‘यो हाम्रो सानो प्रयाससहितको सुरुआती पाइला मात्र हो। थोरै लगानी, कम जनशक्ति र सीमित स्रोतसाधनमा छोटो समयमै उल्लेखनीय नतिजाहरु आउन नसकेपनि यसमा हामी सन्तुष्ट छौं,’ सन्देश सुनाउँछन्, ‘विस्तारै यसलाई भोटे कुकुर अनुसन्धान एवं अध्ययन केन्द्र बनाउने महत्वाकांक्षी सपना हामीले बुनेका छौं ।’

आजकाल मान्छेभन्दा बढी समय उनीहरू कुकुरसँगै ब्यतित गर्छन्। कहिले सेन्टरमा कुकुरलाई नुहाउँदै र सरसफाई गर्दै गरेका भेटिन्छन्, कहिले भोटे कुकुरको अवस्था बुझ्न बागलुङ र रुकुमका ग्रामीण भेडीखर्कहरुमा चहारिरहन्छन्। यता भोटे कुकुर संरक्षणका लागि जनचेतना फैलाउन पनि भ्याएकै छन्। यतिमा मात्र सीमित हुँदैनन् उनीहरु । भोटे कुकुरको विगतको इतिहास खोतल्दै यसको प्रजनन र संरक्षण कार्यका लागि मानिसहरुलाई समेत हौस्याउछन् ।

सुन्दा अचम्म लाग्ला! यस सेन्टरमा प्रजनन भएका र विक्रीमा रहेका हरेक कुकुरको आफ्नै जन्मदाता प्रमाणपत्र पनि हुन्छ। विक्रीमा रहेका हरेक कुकुरका नाता प्रमाण पनि पेश गरिन्छ। विजय थप्छन्, ‘हामी चाहान्छौं कि हामीले प्रजनन गरेका कुकुरहरु सबै शुद्ध भोटे कुकुर नै हुन् ।

किन हराउँदै छन् रैथाने भोटे कुकुरहरु ?

केही वर्ष अघि ग्रामीण भेगका तगारो कुरिरहेका भोटे कुकुर किन भेटिन्नन्? विशेषगरि हिमाली र पहाडी भेगहरुका गाउँ र भेडी गोठालाका साथी बनेका यी कुकुरहरु लेकहरुमा भेडी गोठहरु रित्तिदै गएसँगै घट्दै छन् । विजय भन्छन्, ‘गाइभैसीँको प्रजननका लागि डागो लगाउन लगिएझैँ माउ कुकुरलाई पनि हाड नाता नपर्ने डागो लगाइनु पर्दछ। तर आफ्नै खेती किसानी र वस्तुपालनमा व्यस्त हुने किसान र गोठालाहरुलाई यसको महत्व कसले बताउँलान्? वास्वतमै भोटे कुकुरको संरक्षणका लागि तिनै गाउँलेहरुलाई हाड नाता नपर्ने माउँ र डाँगो पालेर प्रजनन बारे प्रेरित गर्न आवश्यक देखिन्छ।’

अन्य प्रजातिका कुकुरहरुले वर्षमै दुई तीन पटक प्रजनन गर्दा भोटे कुकुरको प्रजनन भने प्राकृतिक रुपमा वर्षमा मात्र एक पटक हुन्छ। यस कारणले पनि भोटे कुकुरको संख्या अरुभन्दा कम नै हुन्छ। यति मात्र नभई प्रायः यी कुकुरहरु उच्च हिमाली र पहाडी विकट भेगहरुमा पाइन्छन् । राम्रो खानपान, उचित स्याहारसुसार र सुरक्षाका अभावमा तिनीहरु गुज्रिरहेका हुन्छन्। यता शहरमै ल्याएर उनीहरुको प्रजनन, बिक्रीवितरण र संरक्षण कार्य आफैँमा चुनौतीको विषय बन्दछ। हिमाली हावापानीमा हुर्कने यी कुकुरहरु शहरको गर्मी, खानपान र वातावरणको तुलनामा कम आयु हुदछ । त्यसैले यी कुकुरहरुलाई उनीहरुकै बासस्थानमा प्रजनन गराउने राम्रो व्यवस्था अति सान्दर्भिक बन्दछ।



हाम्रो नेपाली समाजमा छोरीलाई अवहेलना गर्ने परम्परा त जगडिएरै बसेको छ नै । यहीँ नियति कुकुरले पनि भोग्नुपर्दछ । जन्मिएका छाउरालाई पाल्ने र छाउरीलाई चाँहि जन्मिनेबित्तिकै मारिदिने चलन अझै पनि चल्तीमा छ । प्रयाय: छाउरा पाल्न चाहने तर त्यही छाउरा पाउने छाउरी पाल्न पन्छिने भएकाले प्रजाति नै धरापमा परेको छ। त्यसैले लोपनमुख भोटेकुकुरको जगेर्ना गर्न छाउरी नै पाल्न सुझाव र आग्रह गर्छन सन्देश । वास्वतवमा भाले कुकुर भन्दा पोथी कुकुरले राम्रो सुरक्षाको कर्तव्य पुरा गरेको अनुभव बटुलेको बर्णन गर्छन उनी। साच्चै नै भाले जातका कुकुरहरू घर छाडेर पोथी कुकुर खोज्दै गाउँ सहर बन जंगल महिनौ भोकभोकै डुलेको हामी देख्न सक्छौ । भाले कुकुरहरू धेरै रिसाह र घमन्ड हुने साथसाथै अन्य कुकुर संग लडि हाल्ने स्वभावका हुन्छन र धेरै घाउचोटको पीडा लिएर बस्न पर्ने हुन्छ तर पोथी कुकुरमा भने कम झग्दालु अनि मालिकको धन सम्पत्तिलाई सुरक्षा कर्तव्यनिष्ठ पुरा गरेको पाइन्छ । यस कारण भाले भन्दा पोथी पाल्दा मालिकलाई पनि राम्रो अर्को पक्ष भोटेकुकुर संरक्षणमा योगदान पनि हुने ।

हरेक विषयसँग थुप्रै अन्धविश्वास र भ्रमहरु जगडिएर बसेका हुन्छन्। भोटे कुकुरका संरक्षणलाई ओझेलमा पार्ने यस्तै थुप्रै अन्धविश्वासहरु जनमानसमा अझै विद्यमान छन्। बाइस नङ्ग्रे कुकुरको माग त्यसमध्ये एक हो। आममानिसको गलत बुझाइ छ, बाइस नङ्ग्रे कुकुर एकदम बलियो, अब्बल दर्जाको र बाघसँग पनि लड्न सक्छ । जुन सरासर गलत हो। वास्वतवमा बाइस नङ्ग्रे गुण र यसको बानीव्यवहारसँग कुनै सम्बन्ध नै हुँदैन। मानिसहरु बाइस नङ्ग्रे भनेपछि ठिमाहा र अन्य ब्रिडका कुकुरलाई पनि चर्को मूल्य तिर्न तयार हुन्छन्। पुछर बाया फर्किए शुभ र दाया फर्किए अशुभ जस्ता अन्धविश्वास अझै पनि जीवन्त छ जसका कारण गुणस्तरीय भोटेकुकुर पनि रोजाईमा पर्दैन। यस्तै गलत जानकारीहरु विभिन्न अनलाइन मिडियाले पनि फैलाइरहेका हुन्छन्।

भोटे कुकुरका छाउराछाउरीलाई कान समातेर उचाल्दै शुद्ध नश्लको हो होइन छुट्टाउने अर्को अन्धविश्वास छ। कान समातेर उचाल्दा कुकुरले कुनै आवाज ननिकाले शुद्ध र आवाज निकालेमा काठे मानिने र त्यहीँ अनुसार मूल्य निर्धारण गर्छन् जुन सरासर गलत हो। शरीरको सबै भार कानमा पर्ने हुनाले वास्तवमा कुकुर पीडाले कराएको हुन्छ। 

कुकुर मानिसहरुको पुर्खौदेखिको नजिकको साथी हो। आजको समयमा कुकुर कोही बाध्यताले पाल्छन् त कोही रहरले। गाउँघरतिर जनधन र वस्तुभाउँको सुरक्षाका लागि पालिने कुकर शहरतिर सोख र रहरले पाल्छन्। यता महंगा विदेशी कुकुरहरु पाल्ने फेशन नेपालमा चलेको पनि धेरै भएको छैन। नेपाली रैथाने कुकुरलाई लत्याएर हजारौं मूल्यदेखि लाखौं मूल्यको विदेशी कुकुर विशेषगरी सहरियाहरु पाल्छन् । विदेशी ब्रान्डका कुकुरहरु जति महंगा छन् त्यति नै खर्चिलो पनि छ, यसको खानपान, औषधी र सुरक्षाको खर्च । विदेशी कुकुरलाई विदेशी महंगो खान्की नै चाहिन्छ । नियमित औषधी र भ्याक्सिन लगाउदा पनि तिनीहरु तन्दुरुस्त र लायक हुँदैनन्। यता नेपाली रैथाने कुकुरहरु पाल्दा भने कम खर्चिलो पर्न जान्छ।

हात्ती, गोही, सर्प लगायत विभिन्न जीवजन्तुको अध्ययन, अनुसन्धान र प्रजननका लागि सरकारकै प्रयासमा थुप्रै अध्ययन देशका विभिन्न ठाउँमा सञ्चालनमा छन्। यतिमात्र नभएर स–साना कीराफट्याङ्ग्रादेखि चराचुरुङ्गीसम्म र स–साना जडीबुटीदेखि ठूल्ठूला रुखविरुवाको खोज र अनुसन्धानका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रयासहरु प्रशंसनीय छन् तर नेपालकै रैथाने भोटे कुकुरको विषयमा भने चासो शून्य देखिन्छ। कस्तो विडम्बना यो देशमा ! हात्ती, बाघ, सर्प, भालु समेत भएको देखिन्न। नेपाली भोटे कुकुरलाई संरक्षण गर्दै यसलाई विश्व बजारमा ब्रान्डिङ गर्नुपर्ने खाँचो छ।

भोटे कुकुरको नै संरक्षण किन गर्ने ?

साथी, अभिभावक त कहिले सहयोगीको भूमिका निवार्ह गर्ने भोटे कुकुर नेपालको एकमात्र रैथाने प्रजातिमा पर्दछ। त्यसैले यसको प्रजजन, बिक्रीवितरण र संरक्षण गर्दै विश्व बजारमा ब्रान्डिङ गर्दा नेपालको नाम र नेपालीको पहिचान सँगै जोडिएर आउँछ। यता यो कुनै फेन्सी प्रजातिको कुकुर हैन। शहरतिर सोखले पाल्नेहरु धेरै भएपनि गाउँघरतिर यसको छुट्टै महत्व अझै छ। गाउँघरमा खेतीबाली, जनधन र वस्तुभाउको सुरक्षाका लागि यसको भूमिका अतुलनीय रहन्छ। भोटे कुकुरको पयार्य हुन्, इमान्दारिता, बफदारिता र कर्तव्यनिष्ठ। घर, फार्म वा अफिस सुरक्षाका लागि मासिक हजारौं तिरेर गार्डले गर्ने सुरक्षाको काम भोटे कुकुर एक्लैले गर्न सक्दछ। 

भोटे कुकुर महङ्गो हुनुका कारणहरु ? 

कुनै पनि गोठमा डाँगो र माउँ दुबै गुणस्तरीय भेट्न मुस्किल छ। यस भित्र पनि प्राय हाडनाता परेको देखिन्छ। यस कारण छाउरा छाउरीको गुणस्तर खस्किदै गैराखेको छ। बुढा भएका डाँगो अथवा माउँमा भएको गुणस्तर छाउरा छाउरीमा नभएकै कारणले दश बर्ष भन्दा माथिका कुकुरहरुको गुणस्तर लोप नहोस, नेपाल बाट पूर्ण रुपमा बिउँ नमासियोस भनेर बुढो कुकुरहरामा लगानी गर्नु । लगानी गरेको कुकुरहरुले कतिपयले प्रतिफल नै नदिनु, कतिपयले धेरैमा दुई बर्ष मात्र प्रतिफल दिनु। वुढा कुकुरको प्रजनन् सबै सफल नहुनु। धेरै खोज र अनुसन्धान पछि राम्रो कुकुर ल्यायो त्यस्लाइ राम्रो खानपिन स्याहारसुसार गरेर बर्षभरी पाल्यो रोग लाग्छ उपचार गर्यो हिमाली भेग देखि ल्याउदा हावापानी मिल्दैन उचित बताबरण दिन कृतिम वातावरण निर्मान गर्दा त्यति नै गारो र खर्चिलो हुन्छ , ल्याएर त्यसै छोड्नी कुरा भएन कम्पाउण्ड बनाउनु पर्यो तार जाली गर्नु पर्यो त्यस्मा त्यति नै जतिल अनि महँगो। कुकुर को दिशा पिसाब सोर्नु पर्यो घिन नमानी । कुकुर कुकुर लड्छन गोठालो नै लागेर हेर्नू पर्यो लडिहाले छुटाउनु पर्यो छुटाउदा कहिले आफैलाइ टोकिदिन्छन यति धेरै मेहनत र संघर्ष पछि उत्पादन गर्यो कतिले बच्चा जन्माउदैनन, त कति जन्मिएपछी मर्छन र बच्चा जन्मिएपछी पनि धेरै स् को साथ हुर्कायो साथसाथै कुकुरहरू बुढो भए बच्चा उत्पादन गर्न योग्य नरहे नमरून्जेल सम्म आफ्नै बुढा भएका बाबु आमालाई जसरी स्याहार अनि दिशा पिसाब सोर्नु पर्यो। यो जातको प्राकृतिक विशेषता नै बर्षमा एक पटक मात्र सन्तान उत्पादन गर्नु। छाउरीको माग कम हुनु। बढो प्रजननका लागि ल्याएका कुकुरहरु लाई वातावरण सहज नहुनु । राज्यले आफैले अध्ययन तथा बिङ्गिङ सेन्टर खोली अध्ययन अनुसन्धान गर्नु पर्ने ठाउँमा, आम नागरिकले गरेको कामलाई समेत ब्वास्था गर्नाले । यस्तै बिभिन्न कारण,,,,,



सानो÷सरल प्रयास

दुई साथीको सानो प्रयासले सञ्चालनमा आएको यस सेन्टर ३ वर्ष नागिसकेको छ। सेन्टरमा १० देखि १५ वटा भोटे कुकुरहरु पालिएका छन्। लाखौं लगानी गरिसक्दा पनि अन्य प्रजातिका कुकुरको तुलनामा यसबाट भने मनग्य आम्दानी हुँदैन।

तैपनि दुवै जना आफ्ना मिहिनेत र परिश्रममा सन्तुष्ट छन् । सरकारी निकाय एवं विभिन्न संघ संस्थाबाट साथ सहयोग र हौसलाको अपेक्षारत छन् दुवै । उनीहरुको प्रयासले पक्कै आम मानिसमा भोटे कुकुरप्रति स्थानीयमा चेतना ल्याएको छ।

निदाएको सरकार कति बेर त निदाउँला? यी दुई युवाको झकझकावटले कुनै दिन अवश्य ब्युँझिने छ निदाइरहेको सरकार। अनि खुल्नेछ रैथाने भोटे कुकुर संरक्षण गर्ने चेतना।



Post a Comment

0 Comments